भर्खरै

मेरो कवितामा जलिरहेछ मेरो देश’: सामाजिक सन्दर्भको एषणा


समीक्षा
शाहजहाँले रानी मुमताजको सम्झनामा बनाएको ताजमहल प्रेमको सपाट मिथकीय प्रतीक हो । फेहरिस्त हेर्दा सुत्केरी व्यथाले रानीको निधन भएको केही दिनमै अर्काे निकाह गरेका शाह जहाँलाइ समयपछि अचानक मुमताजको याद आउछ र ८०० मजदुरको चिहानमाथि ताज खडा गर्न लगाउँछ !

०००
लेखकको कलम भाचिँनु वा मजदुरको हात काटिनु प्रकारान्तरले उस्तै हो । अझ गला काटिनु भन्दा कैयौँ गुणा भयानक हुनसक्छ गरिखानेको हात काटिनु ।
नखशिख र अतिशय रतिरागले ग्रस्त राजाको जानलेवा शौकको प्रतिबिम्ब, ८०० जिउदाँ लाशमाथिको सिङमरमर महल वर्षाैँदेखि प्रेमको प्रतीक कसरी भइरहन सक्यो?
यहाँ प्रश्न उठी रहन्छः कसरी भइरहनसक्यो ?
प्रजातन्त्र प्राप्ति, पुनप्र्राप्तिदेखि गणतन्त्रसम्मको यात्रामा केही रुमानी सपना हामीलाई सहिद बन्न उद्दत गरिरहे । जसको टेक्ने खुट्टा मात्रै थियो उसलाई उभिने जमिनका खातिर क्रान्ति गर्न लगाएर खुट्टासमेत गुमाउनु पर्ने पीडाबाट हामीले हाम्रा हरेक क्रान्ति कथित रूपमा सफल पारेका छौँ । न्यूनतम जीवनका लागि क्रान्ति गरेर आफ्नो इहलीला समाप्त गरेका हजारौँ सहिदको सपनामाथि कुठाराघात भएको यो भूगोल “सुन्दर, शान्त र विशाल” कसरी भइरहन सक्यो ?
०००
सत्यको आविष्कार हुदैँन । आविष्कार भ्रमको हुनसक्छ । सत्यबारेको एउटा ‘सत्य’: यो उद्घटित भने हुनसक्छ, तर हामी वर्षाैँदेखि उद्घाटित सत्यमा भन्दा आविष्कृत सत्य (भ्रम) सँग छौँ ।
हामीले भोगेको सिङ्गो युग ऐजन ऐजन चलेको छ । पितापुर्खाले भोगेको समय र हाम्रो समयबीच तात्विक भिन्नता छैन । सामाजिक विसङ्गति र विकृति, राजनीतिक अस्थिरता, भ्रष्टाचार, अपराध, भोकमरी, प्राकृतिक प्रकोप, महामारी आदिले आक्रान्त हाम्रो दर्फिलो इतिहास हामीकहाँ वर्तमान भएर उभिएको छ । यसरी हेर्दा व्यवस्था फेरिने तर पात्र प्रवृत्ति कहिल्यै नफेरिने, वा अव्यवस्थाका रखवालाहरू व्यवस्थाका हिमायती भएर आउने यो देशको राजनैतिक तथा समाजिक संस्कारको पूर्वापर गर्तबाट निस्किएको कृति हो “मेरो कवितामा जलिरहेछ मेरो देश ।”
कवि कालीप्रसाद रिजाल कृत तत्कालीन राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित यो कृति प्रथमपटक वि.स. २०५४ सालमा प्रकाशित भएको हो । ३५ वटा गद्य कविता तथा केही लघु कविताहरू राखिएको यो कृति समाजराजनैतिक कटु सत्यको विश्लेषण हो ।
आफ्नो मन्दिरमा
प्रतिस्थापित भएको छु म
आफुमा प्रकट भएको छु म
म परमब्रह्म, स्वयम्भू
म नै मेरो विधता हुँ
म लय, विलय, प्रलय
म नै मेरो अधिष्ठाता हुँ
म मृत्युञ्जय
तिक्त कालकुटको पान पनि गर्न सक्छु ।
(पिजडाबाट कसैले निकालिदिएपछि)
यो हरेक सफल क्रान्तिको सेलिब्रेसन हो । आत्मविश्वास हो, उत्साह हो, स्वतन्त्रता हो । यद्यपि आर्थिक स्वतन्त्रता बिना अन्य स्वतन्त्रताहरु अपाहिच हुन्छन् ! यो वास्तविकताले उल्लिखित उत्साहलाई क्षणभङ्गुर तुल्याउँदछ र कवि आफैँ भन्दछन्ः
केही विष्फोटित हुन्छ सहसा मभित्र
क्षणभरमै जलेर राख हुन्छ
मेरो आशा अभिलाषाको चित्र
हेर्दाहेर्दै विश्वासको हिमश्रृङ्खलालाई
फेरि शंकाको कुहिरोले ढाक्छ’
(आवाज ! खोइ हाम्रो आवाज)
०००
ओशोले बुद्धदेखि मार्क्ससम्मको दर्शनलाई एउटै ठाउँमा राखेर हेरेँ । उनले ती सबै दर्शनलाई मानवीय दःुख निवारणका उपायका रूपमा प्रस्तुत गरे । बुद्धले दुःखको कारक तृष्णा भनेँ मार्क्सले वर्ग विभेद ! बुद्धले तृष्णाको तुक्ष जालो हटाएर निर्वाणको बाटोलाइ दुख निवारणको उपाय भने, मार्क्सले वर्ग संघर्ष ! बाटो जे जस्तो भए पनि यी दुवै लडाइँ मानवीय सदासयताका लागि हुन । तर दुनियाँमा यस्तो कहिल्यै भएन जुन लडाइँले साराजहाँ भन्न मिल्ने होस्M
अगर फिरदौस बरुर–ए–जमीँ अस्त,
हमीँ अस्तो हमीँ अस्तो हमीं अस्त ।
(अमिर खुसरो)
अर्थात् धर्तीमा स्वर्ग छ भनेँ त्यो यहीँ छ ।
लामो दूरीसम्म मार गर्न सक्ने
क्षेप्यास्त्रहरू बने
सयौँ माइल टाढा देख्न सकिने
यन्त्रहहरू बने
तर इथोपियाका कङ्काल मान्छेहरूलाई
फेरि पनि देख्न सकिएन
करोडौँ भोका नाङ्गाहरूको बस्तीमा
अन्न र लुगाफाटो र्पुयाउन फेरि पनि सकिएन
(युद्ध ! युद्ध)
महाभारतको कथामा आधारित ‘कुरुक्षेत्र’ मा हिन्दीका प्रसिद्ध कवि “दिनकर“ मानव जातिको युद्ध मनस्थितिको मानक यसरी प्रस्तुत गर्दछन्ः
शान्ति नहीँ तबतक भूभाग न नर का सम हो,
नहीँ किसीको बहुत अधिक हो नहीँ किसीको कम हो ।
विश्वमा कण्डम र मेकअपका वस्तुमा जति खर्च हुन्छ त्यति खर्च पोषणमा हुँदैन, शिक्षामा जति खर्च हुन्छ त्योभन्दा बढी खर्च आइसक्रिम र चुइगममा हुन्छ । झट्ट सुन्दा पत्यार नलाग्ने यो कुरा वर्तमान विश्वको उदेकलाग्दो नजीर हो । अधिकाशं देशहरूको रक्षा बजेट र आम मान्छेको जीवनसँग प्रत्येक्ष सम्बन्ध राख्ने बजेटबीचको अन्तर देख्दा लाग्छ उनीहरू वसुधैव कुटुम्बकम होइन ‘आग लगे वस्ती मै हम रहे मस्ती मेँ’ चाहन्छन् ।
०००
सार्वजनिनता र सार्वकालिकता काव्यका ओज हुन् । सार्वजनिनता र सार्वकालिकताले क्रमशः सबै मान्छे र सबै समयका लागि भन्ने अर्थ राख्दछन् । रिजालका कविताले युगको यहीँ मर्मलाई समेट्दछन् । हामीले बाँचेको साझा समयको बोध उनका कविताको आर्तनाद हो ।
वर्तमान मान्छेको विभाजित र खण्डिकृत जीवन यथार्थको उद्बोधन उनका अधिकाशं कविताको मूल वस्तु हो ।
हुरी झञ्झावात बोकेको आफूलाई
हुरहुरती भित्र सल्किरहेको आफूलाई
जेनतेन उठाएर घिर्सार्दै
आफ्नै कोठाको बन्दीगृहमा ल्याएर
पछारिदिनु फालिदिनु
अनि एक्लै सुकसुकाइरहेको
बिचरो आफूलाई
दग्ध भएर छपटाइरहेको आफूलाई
निरपेक्ष चित्रवत हेर्नु
विवश लाचार हेरिरहनु ।
०००
कवि भुपिन ‘सुप्लाको हवाईजहाज’को टु एण्ड फ्रो मोसनमा वासु शशीको कविताशं साभार गर्दछन्, ’पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ….र पर्खाल सबैभन्दा अप्रिय आवश्यकता हो ।’
वासु शशिको सोही पर्खाल दर्शनलाई साक्ष्य मान्दै कवि रिजालको मोसन केही यस प्रकार अघि आउँछ…..
पर्खाल लगाएपछि
धेरै कुरा बाहिर पर्न सक्छ
पर्खाल भत्काएपछि झन
सबै कुरा बाहिर पर्न सक्छ
(पर्खाल लगाएपछिस्पर्खाल भत्काएपछि)
स्वाधीनताको अनिवार्यता सीमा हो, स्वतन्त्रताको शर्त कर्तव्य हो । स्वाधीनता र स्वतन्त्रताको उल्लिखित आधुनिक मानकले यसको मौलिकता वरिपरि पर्खालको काम गरेको छ । विश्व मानव जातिको उत्थान र एकताको आवाज उठेको सन्दर्भमा उल्लिखित मानक अवरोधका रूपमा देखिन सक्छ ।
यो सत्य हो, केही अंशमा पर्खालले
मान्छेलाइ बन्दी बनाइरहेको हुन्छ,
तर सत्य यो पनि हो
मान्छेको स्वतन्त्रता र स्वाधीनतालाई
धेरै अंशमा पर्खालले नै
जोगाइरहेको हुन्छ
(पर्खाल लगाएपछिस्पर्खाल भत्काएपछि)
०००
पुराणमित्येव न साधु सर्व न चापि काव्यं नवमित्यवद्यम् ।
सन्तस् परीक्ष्यान्यतरद् भजन्ते मूढस् परप्रत्ययनेयबुद्धिस् ।।
(कालिदास)
अर्थात् पुरानो भन्दैमा सबै काव्य असल हुने होइनन् । अनि नयाँ भन्दैमा खराब हुने पनि होइनन् । सज्जनहरू परीक्षण गरिकन दुइटामध्ये असल ग्रहण गर्दछन् । मुढहरू लहैलहैमा लाग्दछन् ।
०००
कविता अनुभूतिको सपाट वर्णन होइन, न त प्रतिभाको ठाडो अभिव्यञ्जन, विस्मयकारी गतिशीलता तथा अक्षेय ऊर्जा कविताको न्यूनतम निजत्व हो । रिजालका कविताको सुरुवात सस्पेन्स विहीन पुरानो हिन्दी फिल्म जसरी हुन्छ । पुराना तथा जीर्ण बिम्बको प्रयोगले अधिकाशं कविताहरू बोझिला बनेका छन् ! अधिकाशं कविताले गुढ समाजिक चित्रण गरेको भएता पनि प्रस्तुतिगत निरसताले कुनै निजात्मक निबन्धजस्ता बन्न पुगेका छन् ! मेरो देशको आफ्नै पन छ, के कसैले सोध्यो, यस देशको माटोलाई के भयो, हराएको बालक, कहाँको गोली कसलाई लाग्यो, नयाँ वर्षको शुभकामना, मान्छे बिक्रीमा आदि जस्ता कविताले कविलाई सतही कवेः कर्म सावित गरेको प्रतीत हुन्छ ।
०००
व्यङ्ग्यको अक्षुण आधिक्यताले उनका कविता रसिला र कहीँ कहीँ लक्षणात्मक प्यारोडीजस्ता लाग्न सक्छन्, सङ्ग्रहका अन्तिम भागमा रहेका केही छोटा कविताहरू सङ्ग्रहका मुखर हुन् यद्यपि छोटा कविताहरूले अठारौँ शताब्दीका प्रसिद्ध उर्दू शायरहरू मीर तकीमीर र गालिबका शेरहरूको झल्को दिन सक्छन् । यसरी समग्रमा रिजाल कृत ‘मेरा कवितामा जलिरहेछ मेरो देश’ पठनीय एवं संग्रहणीय रहेको देखिन्छ ।

No comments